काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङसहित ९ नेताले राष्ट्रमाथि मडारिएको संकटको बादललाई ध्यान दिँदै दलीय स्वार्थभन्दा माथि उठेर ताजा राजनीतिक समझदारी निर्माण गरेर अगाडि बढ्ने समय आएको निष्कर्ष निकालेका छन्।
गुरुङको नेतृत्वमा पूर्वमन्त्रीहरू ओमकारप्रसाद श्रेष्ठ, विपिन कोइराला, दीपकुमार उपाध्याय, पूर्वकेन्द्रीय सदस्यहरू लक्ष्मणप्रसाद घिमिरे, विनयध्वज चन्द, पूर्वराज्यमन्त्रीहरू रामचन्द्र अधिकारी, सुरेन्द्र हमाल र नेता लोकेश ढकालले संयुक्त विज्ञप्ति जारी गरेर सिंगो देश संकटको डिलमा उभिएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘सरकार, राजनीतिक दल र देशका अन्य राजनीतिक शक्तिबीचको आपसी द्वन्द्व, आन्तरिक राजनीतिमाथि छिमेकी एवम् अन्तराष्ट्रिय शक्तिको प्रभाव, स्वार्थ, हाम्रो आफ्नै भू-राजनीतिक जटिलता, कमजोर कूटनीति, चरम बेथिति, कुशासन, र कहालीलाग्दो भ्रष्टाचार आदिको कारण नेपालको सत्ता र राष्ट्रिय राजनीति मात्र होइन सिंगो देश संकटको डिलमा उभिएको आम नेपालीलाई जस्तै हामीलाई पनि अनुभूति भइरहेको छ ।’
देश गहिरो राजनीतिक संकटतर्फ उन्मुख भएको अवस्थामा त्यसबाट निकास खोजेर राष्ट्रलाई बचाउन काँग्रेस अग्रसर हुनुपर्ने उल्लेख गरेका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘०७ सालको जनक्रान्ति, ०४६ साल र ०६२/०६३ को जनआन्दोलनमा निर्वाह गरेको ऐतिहासिक एवम् प्रमुख भूमिकालाई मध्यनजर राख्दै सबै राष्ट्रवादी एवम् प्रजातान्त्रिक शक्तिलाई एक बनाएर आम सहमतिको आधारमा राष्ट्रसामु देखा परेको संकटलाई निकास दिन अग्रसर बन्नुपर्ने प्रमुख दायित्व पनि नेपाली काँग्रेसको हो । तर नेपाली काँग्रेस विगत लामो समयदेखि सिद्धान्त र विचारको राजनीति छोडेर केवल सत्ता र शक्तिका लागि अप्राकृतिक गठबन्धन एवम् सम्झौताको राजनीति गर्दै आए पछि यसले विगतको जस्तो राष्ट्रिय राजनीतिमा त्यो ऐतिहासिक गौरवशाली नेतृत्वदायी भूमिका निर्वाह गर्न चुक्दै आएको छ ।’
१२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा लिएको राजनीति अडान उपर गहिरो आत्मसमीक्षा गर्दै विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक कोर्स करेक्सन गर्ने वेला भएको ठहर गरेका छन्।
देशको जटिल राजनीतिक अवस्थामाथि गम्भीरतापूर्वक ध्यान दिँदै निषेधको राजनीति परित्याग गर्दै सबै प्रजातान्त्रिक एवम् देशभक्त राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर राजनीतिक निकास दिन नेतृत्वदायी भूमिका खेल्न पार्टीको केन्द्रीय कार्यसमिति र आवश्यक परे पार्टीको महासमिति बैठक बोलाएर निर्णय लिन समेत माग गरेका छन्। काँग्रेसका यी नेताहरू हिन्द राष्ट्र र राजसंस्थाको पक्षमा नरम सुनिँदै आएका छन्।

