काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सडक बालबालिकामुक्त बनाउने अभियानलाई जोड दिएको छ ।
मन्त्रालयले प्रत्येक वडा स्थानीय तह र प्रदेशलाई सडक बालबालिकामुक्त बनाउने तथा घोषणा गर्नेसम्बन्धी सूचना जारी गरेको छ ।
मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले २०७३ वैशाख २७ गतेदेखि २०८१ सालको चैत मसान्तसम्म देशभरि २० हजार ८१ जना सडक बालबालिकाको उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिसकेको छ।
आगामी असारभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउन २०७१ साल असार १२ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मन्त्रालयबाट सबै स्थानीय तहलाई परिपत्र गरिएको छ । तत्काल उद्धार गर्ने संयन्त्र बालबालिका खोजतलास सेवालाई जिम्मेवार र क्रियाशील बनाइएको बताइएको छ।
परिषद्ले यही वैशाख मसान्तसम्म प्रत्येक वडालाई, आगामी जेठ १५ गतेसम्म प्रत्येक स्थानीय तहलाई र जेठ मसान्तसम्म प्रत्येक प्रदेशलाई सडक बालबालिकामुक्त बनाइ घोषणा गर्न पनि अनुरोध गरेको छ ।