काठमाडौँ । नेपालको भविष्य निर्माणमा इन्जिनियरिङ र उद्यमशीलताको भूमिकालाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय सिभिल इन्जिनियरिङ क्लबले इन्जिनियरिङ नवप्रवर्तन र उद्यमशीलता: नीति, अभ्यास र उद्यममार्फत नेपालको भविष्य निर्माण विषयमा बहस गरेको छ ।
उक्त बहसमा सानिमा माई हाइड्रोपावरका सिइओ डा. सुवर्ण दास श्रेष्ठले नेपालमा प्रभावकारी इन्जिनियरिङ परियोजना कार्यान्वयन गर्न सार्वजनिक-निजी साझेदारी मोडेलको महत्वबारे चर्चा गरे । साथै, उनले नयाँ स्नातकहरूले कम्तीमा दुई वर्ष नेपालमै काम गरी अनुभव संकलन गर्नु आवश्यक रहेकोमा जोड दिए ।
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. रमेशकुमार मास्केले नेपालले हाल जीडीपीको केवल ०.३ प्रतिशत मात्रै अनुसन्धान र विकासमा विनियोजन हुने गरेको बताउँदै कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र नवप्रवर्तनमा छुट्याउन माग गरे ।
बजारको माग र शैक्षिक संस्थाहरूको उत्पादनबीच खाडल पूर्ति गर्नुपर्ने र विश्वविद्यालयहरूले अनुसन्धान तथा नवप्रवर्तनमार्फत उद्यमशीलता प्रवर्द्धन गर्न सक्रिय भूमिका खेल्नुपर्ने कुरामा उनले जोड दिएका छन् ।
सिभिल इन्जिनियर तथा उद्यमी मिलन पाण्डेले जटिल र अप्ठ्यारा नीतिले उद्यमशीलता र नवप्रवर्तनमा कसरी समस्या सिर्जना गर्छन् भन्नेबारे चर्चा गरे । इन्जिनियरहरूको दक्षता विभिन्न क्षेत्रहरूमा विस्तार भएको उल्लेख गर्दै, नेतृत्व क्षमता, संवाद कौशल र सौम्य सीपहरू विकास गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।
आर्किटेक्ट तथा पूर्व मिस नेपाल शृङ्खला खतिवडाले महिला नेतृत्व र उद्यमशीलतालाई अगाडि ल्याएर देशको विकास प्रवर्द्धन गर्नुपर्ने बताइन् । उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न तथा बदलिँदो प्रविधिसँग आफूलाई समायोजन गर्नुपर्ने आवश्यकता औँल्याइन् । युवा इन्जिनियरलाई सिर्जनात्मक सोच विकास गर्दै देशको भविष्य निर्माणमा जिम्मेवार भूमिका खेल्न उनले प्रेरित गरिन् ।