काठमाडौँ। नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रम स्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।
सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनलाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् ।
२०७२ भदौमा टीकापुर काण्डका मुख्य आरोपी रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो। तर, २०८० जेठ १५ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी जेलमुक्त भएका थिए।
चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर दायर गरिएको उक्त रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाएपछि चौधरी पुनः पक्राउ परेका हुन्।
शारदा कडायत टीकापुर हिंसात्मक घटनामा मारिएका प्रह इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन्।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा हिंसात्मक घटना भएको थियो। उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो।