काठमाडौँ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पनि तलमाथि नगर्न भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्राचार गरेको छ ।
सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जनकप्रसाद शर्माले सोमबार एनआरएनए सचिवालयलाई पत्राचार गर्दै तोकिएको मितिमै एकता महाधिवेशन गर्न निर्देशन दिएका हुन् ।
एनआरएनए उच्चस्तरीय समितिले २० देखि २२ वैशाख (३ देखि ५ मे २०२५) मा काठमाडौँमा एकता महाधिवेशन गर्ने तयारी तीव्र पारिरहँदा सर्वोच्चले त्यस्तो निर्देशन दिएको हो।
पत्रमा एनआरएनए सचिवालयले सर्वोच्चको आदेश अनुसार काम कारबाही भइरहेको बताए पनि उच्चस्तरीय समितिलाई सचिवालय हस्तान्तरण नगरेको विषयलाई गम्भीरसाथ लिएको उल्लेख छ ।
पत्रमा एनआरएनको उच्चस्तरीय समितिको १९ चैत २०८१ को पत्र बेहोरा हेर्दा एनआरएन सचिवालय हस्तान्तरण गर्न सक्दैनौँ भनी जवाफ फर्काएको भन्ने र ८ वैशाख २०८२ मा यस निर्देशनालयमा पेस गरेको उच्चस्तरीय समितिको प्रगति विवरणमा ४ मंसिरदेखि ३१ चैत २०८१ सम्म १४ पटक बैठक बसी उच्चस्तरीय समितिले सम्मानित सर्वोच्च अदालतले तोकिएको समयावधि भित्र कार्य सम्पन्न कार्य योजना साथ अगाडि बढिरहेको उल्लेख छ ।
त्यसैगरी ‘निर्धारित मितिभित्र कार्य सम्पन्न गर्न प्रतिबद्ध रहेको भनी ८ वैशाख २०८२ मा एनआरएनएको उच्चस्तरीय समितिको पत्रमा उल्लेख गरे बमोजिम नै गर्नू र सर्वोच्चको २१ चैत २०८० को आदेश अनुसार तोकिएको मितिमा नै महाधिवेशन गर्नू गराउनू’ भन्ने पत्रमा उल्लेख छ ।
यसैगरी फैसला कार्यान्वयन निर्देशनालयले तोकिएको मितिमै उच्चस्तरीय समितिबाट महाधिवेशन सम्पन्न गर्ने गराउने कार्यमा अनिवार्य रूपमा समन्वय, सहयोग गर्न तथा गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै तोकिएको मितिभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने र कानुन बमोजिम समय थप्न कुनै निर्देशन दिन नमिल्ने पनि निर्देशनालयले स्पष्ट पारेको छ।
