काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसीले क्वालिफायरमा स्थान बनाएको छ। झापालाई १-० ले पराजित गर्दै धनगढीले पहिलो क्वालिफायर ललितपुरसँग खेल्ने पक्का भएको हो।
दुई पटक फाइनल पुगेको धनगढीले आफ्नो रवाफिलो प्रदर्शन कायम राख्दै तेस्रो पटक पनि फाइनलको सम्भावना कायम राख्न सफल भयो। ५ खेलमा धनगढी र ललितपुरको समान ११ अंक भएको छ। बाँकी खेलको नतिजाले अब शीर्ष दुईमा अन्य टिमको सम्भावना नरहेपछि अब धनगढी र ललितपुरमध्ये एक टिम फाइनल खेल्ने पक्का भएको छ।
धनगढीको जितमा अहमद हिजाजीले गरेको एक मात्र गोल निर्णायक बन्यो। झापाले भने गोल गर्ने मौका पाए पनि गोल गर्न असफल भएको थियो। यो हारले झापाको प्लेअफको यात्रा गणितीय बनेको छ। झापाले खेलमा एकपछि अर्का राम्रा अवसर गुमाउँदा आफ्नो निरन्तर बराबरीको यात्रालाई अब हारमा पुर्याउन बाध्य भयो।
खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही राम्रा अवसर खेर फाल्दा अग्रता लिनबाट चुकेका थिए। लगातार अवसरबीच पहिलो र दोस्रो हाफमा पनि झापा गोल गर्न चुक्दा खेलको ६० औँ मिनेटमा धनगढीले अग्रता बनाएको हो।
सर्जियो बारबोजाको क्रसमा हिजाजीले क्लोज रेन्जबाट गोल गर्दै टिमलाई अग्रता दिलाए। हिजाजीको यो जारी सिजनमा छैटौँ गोल हो। सर्वाधिक गोलकर्ताको सूचीमा उनी शीर्षस्थानमा रहेको छन्। १(० ले पछि परेको झापाले त्यसपछि पनि खेलमा फर्कने मौका खेर फाल्यो।
खेल सकिन २ मिनेट बाकी छँदा झापाले बराबरी सुन्दर मौका गुमाउन पुग्यो। सबस्टिच्युट खेलाडी प्रविण खुलालले गोलकिपर वालिद विरोलाई चिप गर्दै गरेको प्रहार क्रसबारमा लागेर फर्किँदा समर्थक चुकचुकाएका थिए।
अपराजित धनगढीले पाँच खेलमा तीन जित र दुई बराबरीसँगै ११ अंक बनाएको छ। पाँच खेल खेलेको झापासँग ४ अंक रहेको छ। यसअघि लगातार चार खेल बराबरी गरेको झापाको यो पहिलो हार हो।
अब धनगढीले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग र झापाले भने अन्तिम खेलमा ललितपुर सिटी एफसीको सामना गर्दै छ। भोलि बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ।