काठमाडौँ । लोक सेवा आयोग, केन्द्रीय कार्यालयले प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव वा सो सरह (राजपत्राङ्कित द्वितीय श्रेणी) पदका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगको विज्ञापन नम्बर १६६६८(०८१-८२) अन्तर्गत २०८१ माघ ८ र १३ गते सञ्चालन गरेको परीक्षामा सहभागी उम्मेदवारहरूमध्ये छनौट भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
प्रकाशित नतिजा अनुसार, लिखित परीक्षामा सम्मिलित १४७३ उम्मेदवारहरूमध्ये वर्णानुक्रम अनुसार छनौट भएका ३१ जनाको सूची रहेको छ । माग गरिएको पद संख्या २३ रहेको छ ।
आयोगले छनौट भएका उम्मेदवारहरूलाई सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र लोक सेवा आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा आवश्यक कागजातहरू पेस गर्न आह्वान गरेको छ। उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, न्यूनतम योग्यता एकिन हुने सम्पूर्ण प्रमाणपत्र, अन्य आवश्यक कागजात र दरखास्त फारामको पहिलो र दोस्रो पाना २र२ प्रति आफैँले प्रमाणित गरी रुजू गराउनुपर्नेछ। कागजातहरू अपूर्ण भएमा दरखास्त जुनसुकै बखत रद्द हुने आयोगले जनाएको छ।
छनौट भएका उम्मेदवारहरूले इन बास्केट एक्सरसाइज र अन्तर्वार्ताका लागि प्रवेश पत्र र सक्कल कागजातसहित तोकिएको समयभन्दा १ घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा उपस्थित हुनुपर्नेछ। उक्त दिन सार्वजनिक बिदा परे पनि कार्यक्रम यथावत सञ्चालन हुने सूचनामा उल्लेख छ।
लोक सेवा आयोगले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरेको जनाउँदै छनौट भएका उम्मेदवारहरूलाई आवश्यक तयारीका साथ उपस्थित हुन अनुरोध गरेको छ। थप विवरणका लागि आयोगको आधिकारिक वेबसाइट वा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
लिखित नतिजा :