काठमाडौँ । मधेस प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको माग गर्दै आज जनकपुरधामस्थित प्रदेश भवन अगाडि प्रदर्शन गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको मागसहित ब्यानर तथा प्लेकार्डमार्फत प्रदर्शन गरेका हुन् ।
सिनियर अहेव र सिनियर अनमी (पाँचौँ तह)का कर्मचारी संघर्ष समिति मधेस प्रदेशको आयोजनामा प्रदर्शन गरिएको हो ।
प्रदेशका आठ जिल्लामा करिब एक हजार आठ सय स्वास्थ्य क्षेत्रका कर्मचारीको बढुवामा मधेस सरकारले रोका गरेकाले नियमित बढुवाको माग गर्दै प्रदर्शन गरिएको संघर्ष समितिका कोषाध्यक्ष रुपेश साहले बताए ।
पटक पटक नियमित बढुवाको माग गरे पनि प्रदेश सरकारले सुनुवाइ नगरेपछि आज मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुरलीचोकमा प्रदर्शन गरी प्रदेश सभा भवन अघि पुगेर कोणसभा गरिएको उनले जानकारी दिए । उनका अनुसार प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई माग सुनुवाइ गर्नेसम्बन्धी तीन बुँदे ज्ञापन पत्रसमेत बुझाइएको छ ।
उक्त ज्ञापन पत्रमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम विगतदेखि पाउँदै आएको दुई तह स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुलाबाट पदपूर्ति शतप्रतिशत हुनुपर्नेलगायत माग राखिएका छन् । यसैबीच, आज प्रदेशसभा बैठक भएकाले प्रदेशसभा भवन वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।