काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीबीच शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा शुभकामना आदानप्रदानपछि दुई देशबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, सहकार्य, व्यापार र लगानीका विषयमा छलफल भएको छ।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सम्बन्ध घनिष्ठ र सुमधुर रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्ने बताए।
उनले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तारमा जोड दिँदै लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध र पारस्परिक सहयोगका क्षेत्रमा दुवै देशले मिलेर काम गर्नुपर्ने बताए।
जलविद्युत, पर्यटन, पूर्वाधारमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई नेपाल स्वागत गर्न चाहेको उनले बताए।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानको धेरै विषयमा समान दृष्टिकोण रहेको र बहुपक्षीय मञ्चमा चासो मिल्ने बताए।
उनले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रभाव सामना गरिरहेको बताए। उनले पाकिस्तानका राष्ट्रपति असिफ अलि जरदारीलाई शुभकामना पनि पठाए।
पाकिस्तानी राजदूत हाश्मीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका समस्याको समाधान परस्पर सहकार्यबाट गर्नुपर्ने बताए। जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ का लागि नेपाल सरकारलाई बधाई दिँदै यसमा पाकिस्तानको साथ र सहयोग रहने उनले बताए।