हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन सकिएन । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उनलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौँ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उनी गाउँ फर्किए। यही क्षण उनका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उनी सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल भएका छन् ।
न्यौपानेले हाल मासिक करिब रु. एक लाखसम्म कमाई हुने गरेको सुनाए । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उनी जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उनी अचेल निकै हर्षित छन् । “दुई छोराछोरीको पठनपाठनदेखि परिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु”, उनले भने।
हाल उनले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर बिदेसिएका थिए आज त्यही बारीमा श्रम, पसिना खर्चेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाएका छन् ।
त्यसबाट वार्षिक रु. तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपानेले बताए । यस्तै दूध दिने चार वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गरी वार्षिक करिब रु. नौ लाखको कारोबार गर्छन् । “मैले प्लास्टिक हाउस (टनेल) मा गोलभेँडा खेती, व्यावसायिक केरा खेती र गाई पालन गरिरहेको छु । तरकारी खेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चार वटा गाई र पाँच वटा बाच्छाबाच्छीपालनको मूत्र संकलनका लागि ट्यांकी निर्माण गरेको छु ।
त्यही मूत्र तरकारीमा प्रयोग गर्छु”, उनले भने, “यस कारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मूत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।”
माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रूपमा गौ मूत्रको प्रयोग सुरु गरेका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहेको बताए । उनी भन्छन्, “मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि ।” उनले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताए । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु. नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएर रु. सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाए ।
चार वटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडा खेती गरिरहेका उनले अन्तरबालीका रूपमा बन्दा पनि लगाउँछन् । श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीय स्तरमै रु. दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताए ।
यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहेका छन् । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदै छ । यदि सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उनको बुझाइ छ । यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूले जस्तो प्रांगारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वृद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उनको आग्रह छ ।