काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको समर्थन गर्दै विज्ञप्ति जारी गरेका पोर्चुगलका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेश राज बास्तोलासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
मन्त्रालयले २०८१ फागुन २५ गते विज्ञप्ति जारी गर्दै बास्तोलाले आफ्नो फेसबुक पेजमा “श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता” शीर्षकमा विज्ञप्ति सार्वजनिक गरेको, सो क्रममा सरकारी लोगो तथा लेटरप्याडको दुरुपयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले नेपालको विद्यमान नीति विपरीत गैरजिम्मेवारपूर्ण कार्य गरेको भन्दै उनलाई नेपाल सरकारको पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ अनुसार पदमुक्त गर्नुपर्ने कुनै कारण भए २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो।
बास्तोलाले २०८१ फागुन २४ गते जारी गरेको विज्ञप्तिमा पूर्वराजा शाहको ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना सन्देशको समर्थन गर्दै राजसंस्थालाई पुनः स्थापित गर्न राष्ट्रवादी शक्तिहरूलाई ऐक्यबद्ध हुन आह्वान गरेका थिए। साथै, उनले २०६२/६३ पछिको राजनीतिक परिवर्तन असफल भएको दाबी गर्दै संवैधानिक राजसंस्था पुनः स्थापना नै देशको अन्तिम विकल्प रहेको उल्लेख गरेका थिए।
सरकारी जिम्मेवारीमा रहेका व्यक्तिले सरकारको नीति विपरीत धारणा सार्वजनिक गर्दै आधिकारिक लोगो तथा लेटरप्याडको प्रयोग गर्नु गलत रहेको भन्दै मन्त्रालयले स्पष्टीकरण मागेको हो। बास्तोलाले समय सीमाभित्र स्पष्टीकरण नदिएमा मन्त्रालयले थप कारबाहीको निर्णय गर्ने बताइएको छ।
यो घटनाले नेपाल सरकारद्वारा नियुक्त पर्यटन प्रवर्द्धकहरूको भूमिकाबारे प्रश्न उठाएको छ। बास्तोलाले स्पष्टीकरण दिने वा मन्त्रालयले उनलाई पदमुक्त गर्ने भन्ने विषय चासोको रूपमा हेरिएको छ।

