काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइसराइलाई रोक्ने गरी योजना बनाउनुपर्ने बताएका छन् ।
आज विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको प्रदेशस्तरीय आयोजना तर्जुमा गोष्ठीमा कार्कीले पहाडबाट तराईमा बसाइ सर्ने प्रवृत्ति अत्यधिक रहेकोले रोक्ने खालका योजनामा जोड दिए ।
असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्ने भन्दै उनले पहाडी क्षेत्रको जनजीवन सहज बनाउने रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।
‘हामी जति लगानी गरेर योजनाका काम गर्छौँ हाम्रा लक्ष्य र उद्देश्य पूरा हुनुपर्छ । लगानी गरेका कामहरूबाट आम्दानी समेत हुने गरी योजना बनायौँ भने प्रदेशको आर्थिक स्रोत पनि बलियो हुन्छ’, कार्कीले भने ।
पर्यटनको क्षेत्रको लगानीबाट त्यो सम्भव रहेको भन्दै उनले त्यसका लागि स्थानीय तहसँग सहकार्य गर्न सकिने बताए ।
उनले भने, ‘यसो गरियो भने हाम्रो काम पनि हुन्छ र प्रदेशको स्रोत पनि बढ्दै जान्छ ।’
प्रदेश सांसदलाई पनि स्वामित्व लिँदै योजनाहरू छनोट गर्ने र केही पाइएन भन्ने गुनासोलाई न्यूनीकरण गर्दै नमुना काम गर्नुपर्ने उनले बताए ।