काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरवारमा सम्पन्न भेटवार्तामा नेपाल र जापानबीच भएको आपसी समझदारी एवम् श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको थियो। मन्त्री भण्डारीले जापानमा कार्यरत नेपाली श्रमिकहरूको सेवा, सुविधा र सुरक्षाबारे चासो व्यक्त गरेका थिए ।
त्यसैगरी, जापान सरकारले माग गरेअनुसार दक्ष तथा सीपयुक्त कामदार पठाउने विषयमा दुवै पक्षले छलफल गरेका थिए। श्रम आपूर्तिको प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन आवश्यक पहल गर्ने विषयमा पनि सहमति जुटेको छ।
नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापानमा कार्यरत नेपाली श्रमिकहरूको सेवा, सुविधा र सुरक्षाका विषयमा जापान सरकार सकारात्मक रहेको बताएका छन् । साथै, जापान नेपाली कामदारका लागि सुरक्षित र आकर्षक गन्तव्य रहेको भन्दै दुवै पक्षले आपसी समझदारीका आधारमा श्रम सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।