काठमाडौँ। रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।
निर्वाचन प्रयोजनका लागि पूर्वप्रकाशित तालिका अनुसारका सम्पूर्ण कार्यक्रम क्याम्पसमा सृजना भइरहेको असहज परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको निर्वाचन अधिकृत गणेशप्रसाद पाण्डेयले जानकारी दिए ।
क्याम्पसमा क्रियाशील सम्पूर्ण विद्यार्थी संघ-संगठनको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय बैठकको सहमतिमा प्रक्रिया अगाडि बढाइने पाण्डेयले बताए ।
सोमबार बिहान केही विद्यार्थी संगठनले क्याम्पसको हलमा तोडफोड गरेका थिए । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संगठन दर्ता आज तोकिएकोमा केही विद्यार्थी संगठनहरुले तोडफोड गरेका हुन् ।
समाजवादी विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पस इकाई इन्चार्ज इरफान अलीले स्नातक तहमा भर्नाका लागि तोकिएको समयमा धेरै दिन बिदा परेको र समय पर्याप्त नभएकोले पुनः भर्ना खुलाउनुपर्ने बताए ।







