तुलसीपुर । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ द्वारा आयोजित ‘प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी – २०८१’ सम्पन्न भएको छ। नेपाल प्रहरीको वार्षिक कार्य योजना -२०८१ अन्तर्गत आयोजित यो गोष्ठीमा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधिको विकास, साइबर अपराध नियन्त्रण, अनुसन्धानमा देखिएका समस्याको समाधान तथा अनुसन्धानकर्ताहरूबीच समन्वय सुदृढ गर्ने विषयमा गहन छलफल गरिएको थियो।
गोष्ठीको उद्घाटन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेत नारायण आचार्य ले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उनले नेपाल प्रहरीलाई थप प्रविधि, साधन स्रोत र जनशक्ति उपलब्ध गराई अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने प्रदेश सरकारको प्रतिबद्धता दोहोर्याउँदै गोष्ठीको सफलताको शुभकामना दिए ।
गोष्ठीमा अपराध अनुसन्धानको वर्तमान अवस्था, अनुसन्धानमा भएका नवीन प्रयोगहरू तथा अनुसन्धानकर्ताहरूले सामना गरिरहेका समस्याहरूको विश्लेषण गरिएको थियो। अपराध अनुसन्धानमा नवीन प्रविधिको प्रयोग, साइबर अपराध नियन्त्रण सम्बन्धी कानुन र कार्यान्वयनमा एकरूपता, अनुसन्धानकर्ताहरूबीच समन्वय, अनुसन्धान तथा अभियोजन निकायको सहकार्य, स्रोत-साधन परिचालनको अधिकतम उपयोग र अन्तर-कार्यालय समन्वय, वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री अनुसन्धान पद्धति अवलम्बनका विषयमा व्यापक छलफल गरिएको थियो।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुबेर कडायतले अपराध अनुसन्धान गर्ने तल्लो इकाईहरूमा देखिएका व्यावहारिक समस्याबारे जानकारी लिइ समाधानका लागि यो गोष्ठी पुलको रूपमा रहने बताए । उनले अपराधका प्रकृति परिवर्तन भएसँगै अनुसन्धानलाई वैज्ञानिक, प्रमाणमुखी र परिणाममुखी बनाउन प्राप्त स्रोत(साधनको अधिकतम उपयोग गर्ने निर्देश पनि दिए ।
गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरूले आफ्नो जिल्लाको अपराध अनुसन्धानको अवस्था, चुनौती र अनुसन्धानका नवीन प्रयोगबारे प्रस्तुति दिए । त्यस्तै, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डे ले लुम्बिनी प्रदेशमा अपराधको अवस्था, त्रुटिहरू तथा अनुसन्धान सुदृढीकरणका आवश्यकताबारे प्रकाश पारे । जिल्ला न्यायाधिवक्ता मुक्तिराम सुवेदी र सह(न्यायाधिवक्ता गोविन्द राज गौलीले अनुसन्धान र अभियोजनका चुनौतीबारे प्रस्ट पार्दै समन्वयको आवश्यकता औँल्याए ।
गोष्ठीमा प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले अपराधका नयाँ प्रवृत्ति तथा प्रविधिले अनुसन्धानलाई जटिल बनाएको उल्लेख गर्दै संगठनको उद्देश्य प्राप्त गर्न अनुसन्धान सुदृढीकरणमा निरन्तर सुधार आवश्यक रहेको बताए ।
गोष्ठीले प्रहरी संगठनलाई प्रविधिसँग अपडेट गराउँदै अपराध अनुसन्धानमा वैज्ञानिकता र प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएको छ। यसका साथै, अपराध नियन्त्रणका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताबीचको समन्वयलाई थप बलियो बनाउने रणनीति अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ।
