काठमाडौँ । निजामती सेवामा ३८ वर्ष लामो यात्रा पूरा गरेका राष्ट्रिय योजना आयोगका सचिव मधु कुमार मरासिनी अवकाश भएका छन् । ५८ वर्षे सेवा उमेर हदका कारण शनिबार सेवा अवधि पूरा गरेका मरासिनीलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिदाइ गरेको हो ।
२०४३ सालमा खरिदार पदबाट निजामती सेवा यात्रा सुरु गरेका मरासिनी खुला प्रतिस्पर्धाबाट नायब सुब्बा, अधिकृत हुँदै उपसचिवसम्म पदोन्नति भएका थिए । कानुन मन्त्रालयमा खरिदारको रूपमा सेवा थालेका उनले अधिकृत र उपसचिवका रूपमा राजस्व प्रशासनमा महत्त्वपूर्ण समय बिताए । सहसचिव भएपछि पनि उनले अधिकांश समय अर्थ मन्त्रालयमा जिम्मेवारी सम्हाले ।
मरासिनीले राजश्व अधिकृत उत्तीर्ण गरेको पाँच वर्षमै राजश्व मै उपसचिव पदमा खुला प्रतिस्पर्धाबाट नाम निकालेका थिए । उपसचिव रहँदा विश्व बैंकमा समेत काम गरेका उनले सहसचिव हुँदा चार वर्षभन्दा बढी वैदेशिक महाशाखा प्रमुखको रूपमा काम गरे भने एक वर्ष बजेट महाशाखा प्रमुखको जिम्मेवारी सम्हाले । साथै, केही समय आन्तरिक राजस्व विभागको उपमहानिर्देशकका रूपमा सेवा दिए । वाणिज्य मन्त्रालयमा सहसचिव हुँदा उनले कन्सुलर जनरलको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।
सचिव भएपछि दुई पटक अर्थ सचिव बन्ने अवसर पाएका मरासिनीले महालेखा नियन्त्रक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय हुँदै राष्ट्रिय योजना आयोगको सचिवका रूपमा सेवा गरे ।
अर्थ प्रशासनका ज्ञाताका रूपमा परिचित मरासिनीले आफ्नो सेवा कालमा अर्थतन्त्र, राजस्व, बजेट र वित्तीय प्रशासनमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनका सहकर्मी तथा कर्मचारीहरूले उनलाई अझै पनि प्रेरणाको स्रोतका रूपमा लिने गरेका छन् ।

