काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लागू औषधमुक्त समाज निर्माणका निम्ति लागू औषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाडौँमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागू औषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागू औषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रूपमा देखा परिरहेको बताए ।
“ लागू औषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकारात्मक असर पारेको छ ।” गृहमन्त्री लेखकले भने–“ सरकार, प्रहरीकोको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।”लागू औषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरुरी रहेको बताए।
“लागू औषध प्रयोगकर्ताको जीवन समाप्तितर्फ गएकै छ । समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरु अपराधको पनि वृद्धि गरेको छ ।” उनले भने–“ समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ । धेरै अपराधको जगमा लागूऔषध छ ।” लागूऔषध विरुद्धको महाअभियान देशव्यापी रूपमा चलाउन जरुरी रहेको भन्दै उनले विद्यालय स्तरसम्म महाअभियान पुर्याउन आवश्यक रहेको बताए । “महाअभियानलाई प्रत्येक जिल्ला पालिका र टोल, विद्यालय क्याम्पससम्म जोड्नुपर्छ ।
यदि समयमै नियन्त्रण गरेनौ भने दश/पन्ध्र वर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा देखिराख्याछु । ” उनले भने–“ ‘जुन ढंगले लागूऔषधको ओसारपसार, भण्डारण र प्रयोग भइरहेको छ । त्यसले आगामी दश पन्ध्र वर्षमा भयाभहवस्थिती ल्याउने अवस्था देखिरहेको छु ।”
“लागूऔषध मुक्त समाज निर्माणका लागि देशव्यापी बनाउन आवश्यक छ र प्रहरीलाई यो महाअभियान देशव्यापी रूपमा लैजान निर्देशन दिन्छु ।” गृहमन्त्री लेखकले भने–“यसमा सबै तहका सरकारले पनि सहयोग गर्न आवश्यक छ । यसलाई सबैले अभियानका रूपमा अगाडी बढाउनुपर्छ ।” सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागूऔषध एउटा कारकका रूपमा रहेको उनको भनाई थियो ।
“ एक दिनमा सात जनाको सवारी दुर्घटनामा मृत्यु र १७ जनाले दैनिक आत्महत्या गरिरहेको छ । यसका पछाड पनि लागूऔषध कारक देखिन्छ ।” लेखकले भने–“समाजमा अपराध वृद्धि, अराजकता र बेतिथिका पछाडि लागूऔषध र मादक पदार्थ कारकका रूपमा देखा परेकाले समाजका धेरै अपराधहरूको नियन्त्रणका लागि लागूऔषध नियन्त्रण गर्न आवश्यक छ ।” लागूऔषध नियन्त्रण गर्न सके धेरै अपराधका कमी ल्याउन सकिने मन्त्री लेखकको भनाई छ ।







