काठमाडौँ । उच्च माध्यामिक शिक्षा परिषद् (एचएसईभी) को कर्मचारी भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-१४ घर भएका २३ वर्षीय छिरिङ तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार नरदेवीबाट तामाङलाई पक्राउ गरेको हो ।
प्रवक्ता आचार्यका अनुसार एक व्यक्तिको नागरिकताको विवरण र एचएसईभीको ट्रान्सकिप्टमा उल्लेख भएका केही विवरणहरू फरक परेका थिए । त्यसपछि तामाङले आफू एचएसईभीको कर्मचारी भएको बताउँदै विवरण सच्याउने बताएका थिए । त्यसका लागि रकम चाहिने भन्दै प्रारम्भिक चरणमा एक लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।