ढाका, बंगलादेश। नेपाल-बंगलादेश मैत्री समाजसँगको सहकार्यमा बंगलादेशस्थित नेपाली राजदूतावासले ‘साहित्यिक आदानप्रदान तथा पुरस्कार वितरण समारोह’ आयोजना गरेको छ। कार्यक्रममा नेपाल र बंगलादेशबीचको सांस्कृतिक र भाषिक समानताका विषयमा साहित्यिक प्रस्तुति, कविता वाचन तथा समीक्षात्मक छलफल गरिएको थियो।
यसै अवसरमा, ‘नेपाल मेरो दृष्टिमा’ शीर्षकमा २४ जनवरी २०२५ मा आयोजित चित्रकला प्रतियोगिताका विजयी प्रतिभाहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल–बंगलादेशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्दै साहित्यिक आदानप्रदानले जनस्तरमा सम्बन्ध थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, उनले विद्यार्थीहरूले तयार पारेका कलाकृतिहरू प्रशंसा गर्दै ती सिर्जनात्मक कृतिहरूले दुई देशका समाजलाई अझ नजिक ल्याउन मद्दत गर्ने धारणा व्यक्त गरे।
बंगलादेश सरकारका संस्कृति मामिला सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि महामहिम मोस्तफा सरवार फारूकीले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन राजदूतावासले गरिरहेका कूटनीतिक प्रयासहरूको प्रशंसा गरे। उनले नेपाल-बंगलादेश मित्रताको आधारभूत स्तम्भका रूपमा भाषा, साहित्य तथा संस्कृति रहेको उल्लेख गरे।
नेपाल सिर्जनशील लेखक समाजका अध्यक्ष श्रीओम श्रेष्ठले ‘हालको सन्दर्भमा नेपाली साहित्य र संस्कृति’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे भने बंगलादेशी लेखक तथा बाङ्ला एकेडेमीका प्रतिनिधि मोजाफ्फर हुसैनले ‘बंगलादेशको साहित्यः संघर्ष र सृजनशीलताको प्रतीक’ विषयमा कार्यपत्र वाचन गरे।
कार्यक्रममा नेपाल र बंगलादेशका सिर्जनशील लेखकहरूले आफ्ना कविता तथा साहित्यिक रचनाहरू वाचन गरेका थिए।
नेपालबंगलादेश मैत्री समाजका अध्यक्ष मोशिउर अहमदले विद्यार्थीहरू तथा साहित्यिक विद्वान्हरूलाई संलग्न गराउँदै दुई देशबीचको सम्बन्धलाई थप प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए।
सोही अवसरमा चित्रकला प्रतियोगिताबाट चयन गरिएका २० उत्कृष्ट कलाकृतिहरू संकलित विशेष प्रकाशन पनि विमोचन गरिएको थियो।
