काठमाडौँ । महानगरपालिका-४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ रातो पुल बस्ने ६२ वर्षीया विजया श्रेष्ठसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार रुपैयाँ र ७ बुक ताससहित शुक्रबार साँझ पक्राउ गरेको हो ।
यस्तै, उदयपुर, त्रियुगा नगरपालिका-१२ बस्ने ४५ वर्षीया बबिता चौधरीको घरमा पनि जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बुद्ध चोक बस्ने ३४ वर्षीय ठमान राई समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ८ सय २५ रुपैयाँ र १८ बुक ताससहित शुक्रबार साँझ पक्राउ गरेको हो ।
हाल पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।