काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ कमलादीस्थित ‘स्वाइवाक टावर’ अवलोकन भ्रमण गरेका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पोमा नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको प्रतिक्रिया दिए ।
पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्य सहित सार्वजनिक बिदाको अवसर पारेर प्रधानमन्त्रीको भ्रमणले पर्यटन क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए ।
त्यस अवसरमा उनले टावरको २२औँ तलामा रहेको स्काई रेस्टुरेन्टमा खाजा खाएका थिए ।
कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्न पाइन्छ । यसैलाई स्काइवाक भनिन्छ । सिसामाथि हिँडेर साहसिक मजा लिन काठमाडौंमा यो एक मात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ ।