काठमाडौँ । युवा तथा खेलकुद मन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई पदबाट हटाएका छन् । रञ्जितको स्थानमा देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाइएको छ ।
रञ्जितसँग मतभेद बढेपछि मन्त्री चौधरीले विभिन्न आरोप लगाउँदै उनलाई प्रमुख आयुक्तबाट हटाएको स्काउट स्रोतले बतायो। मन्त्री चौधरीले गत माघ २८ गते प्रमुख आयुक्त रञ्जितलाई पत्र लेखेर १० बुँदे स्पष्टीकरण सोधेका थिए ।
रन्जित प्रमुख स्काउटबाट मनोनयन भई नेपाल स्काउटको प्रमुख आयुक्त बनेका थिए । उनलाई नेपाल स्काउट ऐन २०५० (संशोधन सहित), नेपाल स्काउट नियमावली २०७७ (संशोधन सहित), नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संशोधन सहित) र प्रचलित कानुनको समेत उल्लंघन गर्दै विभिन्न निर्णय गरेको सम्बन्धमा स्पष्टीकरण मागिएको थियो । तीन दिनभित्र युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउटसमक्ष भौतिक रूपमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न मन्त्रीले निर्देशन दिएका थिए ।
रञ्जितले स्पष्टीकरणको जवाफ दिए पनि त्यो चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरिएको बताइएको छ ।
यसका साथै मन्त्री चौधरीले राष्ट्रिय कार्यकारी समिति पुनर्गठन गरेका छन् । कार्यकारी समितिबाट ७ जनालाई हटाएर नयाँ नियुक्ति गरेका हुन् ।