काठमाडौँ । जनकपुरका एक निजी अवैध अस्पतालका सञ्चालक पक्राउ परेका छन् ।
मधेश सरकारको निर्देशनलाई अटेर गर्ने जनकपुर मोडर्न हस्पिटलका सञ्चालक राम भरोस महतोलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
गत शनिबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका २० वटा अस्पतालको छड्के अनुगमन गरेका थिए । त्यस क्रममा दर्ता नरहेका अस्पतालहरूलाई आइतबारसम्म बन्द गरेर साँचो सरकारलाई बुझाउन निर्देशन दिएका थिए । मुख्यमन्त्री सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहको टोली पुनः अनुगमनमा पुगेपछि सो अस्पताल बन्द नगरेको पाइएको हो ।
मोडर्न हस्पिटलका सञ्चालक महतोलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।