काठमाडौँ । बालबालिकालाई आफ्नो काम आफैँ गर्न सिकाउने शैक्षिक चेतनामूलक बालगीत ‘आफूसित आफैँ दंग’ सार्वजनिक भएको छ । रामबाबु सुवेदी ‘अफिसियल’ नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
गीतले बालबालिकालाई समयको सदुपयोग गर्ने प्रेरणा प्रदान गरेको छ । बाल साहित्यकार सुवेदीको शब्द रचना रहेको यस गीतलाई दीपक शर्माले संगीत भरेका छन् । यसमा नरेन्द्र वियोगीको संगीत संयोजन छ । आर्यभ डङ्गोल, पारिका श्रेष्ठ, ओश्ना छेत्रीसहित यस बालगीतमा डियरवाक सिफल स्कुलका बालबालिकाले गायन र अभिनयमा आफ्नो कला प्रस्तुत गरेका छन् । प्रस्तुत भिडियोमा समयको महत्त्व बुझ्नुपर्छ, स्वस्थ रहनुपर्छ, फुर्तिलो हुनुपर्छ भन्ने भाव रहेको छ ।
आज यहाँ आयोजित कार्यक्रमका उक्त गीतको भिडियो विमोचन गरिएको छ । विमोचन समारोहमा गीतकार सुवेदीले बालबालिकाहरूले गीत हेरेर, सुनेर असल बानीको विकास गरुन् भनी यो सिर्जना रचिएको बताए । यस्तै कार्यक्रमका साहित्यकार प्राज्ञ अमर न्यौपानेले सकारात्मक सन्देश दिने यस बालगीत निकै उपयोगी रहेको बताए । यस्तै उनले यस अडियो र भिडियोमा गायन, अभिनय र नृत्यको सुन्दर संयोजन रहेको पनि उल्लेख गरे ।
उक्त कार्यक्रममा डियरवाक सिफल स्कुलका विद्यार्थी र शिक्षकहरूसहित करुण थापा, कार्तिकेय घिमिरे, ललिता दोषीलगायत विभिन्न स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
अतिथिहरूले बाल मनोविज्ञानमा आधारित प्रस्तुत गीति भिडीयोले हाम्रा बालबालिकामा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वाश व्यक्त गरे । स्कुलका अध्यक्ष हितेष कार्कीले रामबाबु सुवेदीका गीत बालबालिकाका निम्ति उत्प्रेरणादायक हुने हुनाले स्कुलले अडियो भिडियो निर्माण संयोजन गरेको बताए ।
अफिसियल नामक युटुब च्यानलमा ७४ भिडियो सार्वजनिक भएका छन् । ती सबै बालगीत सन्देशमूलक, शिक्षामूलक र सिकाइमूलक रहेका छन्। यस भिडियोमा आचार्य गोपालको परिकल्पना र निर्देशन रहेको छ। यस्तै भिडियोमा सुनिल भण्डारीको छायाङ्कन, वीरबहादुर थारुको सम्पादन र प्रवीण अधिकारीको अनुवाद रहेको छ। कार्यक्रम सञ्चालन डियरवाक सिफल स्कुलका नेपाली विभाग प्रमुख तेजप्रसाद काफ्लेले गरेका थिए ।