काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरूमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार शहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरूलाई मन्त्रालयमा बोलाएरै उनले समस्याग्रस्त आयोजनाबारे चासो राखेका हुन् । उनले आयोजनामा के कारणले समस्या देखिएको हो त्यसबारे पहिचान गरी तत्काल समाधान निकाल्नुपर्नेमा जोड दिए ।
मंगलबार मन्त्रालयमै भएको छलफलमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन मचाकाजी महर्जन र नयाँ शहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालयअन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतीबारे जानकारी गराएका थिए । सो क्रममा उनीहरूले कतिपय आयोजनामा ठेकेदारले नियतवस काम नगर्दा समस्या देखिएको, केहीमा ठेकेदारले काम गरिरहँदा पनि केही प्राविधिक समस्या भएको र केही योजनाहरू भने अदालतमा मुद्धा परेकाले रोकिएको बताएका थिए ।
समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गीकरण गरेर कानुनसम्मत समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए ।
उनले मन्त्रालयले सहजीकरण गर्दा अघि बढ्न सक्ने योजना भए तत्काल त्यसका लागि आवश्यक काम थाल्न पनि विभाागिय प्रमुखहरूलाई ध्यानाकर्षण गराए । ‘आयोजनामा भएको समस्या के हो ? र समाधानको उपाय के हुनसक्छ ? समस्या देखाउने मात्र नभई समाधानको विकल्प सहित तयारी गर्नुस् ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘कार्यान्वयनमा लैजान नसक्ने काम छ भने त्यसमा के गर्ने कानुनसम्मत टुंगोमा पुग्नुपर्छ । काम गरिरहेको तर पूरा गर्न नसक्नेलाई मौका दिन सकिन्छ । तर, ठेक्का लिएर समय थप पछि थप मात्र गर्ने काम अब नहोस् । परिणाम आउने गरी काम गर्नुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले विकास निर्माणका काम वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने भन्दै अब नागरिकले परिवर्तनको महसुस गर्ने गरी आयोजनाहरू अघि बढाउनुपर्नेमा जोड दिए ।







