धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरी चोरीनिकासी भइरहेको सूचनाका आधारमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा छापा मारेका छन् ।
नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेसको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको भन्दै प्रदेश सरकारका तर्फबाट त्यस विरुद्ध छापा गरिएको उनले बताए ।
राष्ट्रिय वन क्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको, अन्य ठाउँमा अनाधिकृत रूपले नदीजन्य पदार्थको दोहन भइरहेको खबर प्राप्त भएपछि मुख्यमन्त्री सिंहसहित जिल्लाका सुरक्षा अधिकारीको टोलीले बुधबार राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बरुण सिंहले मुख्यमन्त्री सिंहको अगुवाइमा छापा मार्ने क्रममा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १३ ट्याक्टर, दुई वटा बकेट र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
मुख्यमन्त्री सिंहसहितको टोली पूर्वपश्चिम राजमार्गको उत्तरतर्फका वन क्षेत्रभित्रको खोलामा मध्यरात पुग्दा दोहन गरिरहेका स्काइभेटर, ट्याक्टर र बकेट तथा त्यसमा संलग्न व्यक्ति अँध्यारोको लाभ उठाइ ठाउँ ठाउँमा बनाइएका बाटा हुँदै फरार भएका प्रहरी प्रवक्ता सिंहले जानकारी दिए । उनका अनुसार उत्खनन स्थलबाट दक्षिणतर्फ आउँदै गरेका ट्याक्टर, बकेट र चालक नियन्त्रणमा लिइएको हो ।
मुख्यमन्त्री सिंहले विधि, प्रक्रिया र मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन तथा जथाभाबी दोहनबाट राज्यको सम्पत्ति हानी नोक्सानी भएको, विपद् निम्तिँदै गएकाले त्यस विरुद्ध अनुगमन बढाइएको बताए । उनले राजमार्गभन्दा उत्तर र दक्षिणतर्फ कमला खोलासहित अन्य नदीबाट अनाधिकृत रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको गुनासा आएपछि मध्यरातमा अनुगमन गरिएको उल्लेख गरे ।
राष्ट्रिय वन क्षेत्र र सामुदायिक वन क्षेत्रस्थित खोला र बोलपत्र नलागेका खोलाबाट राति १० बजेदेखि बिहान ४ बजेसम्म ढुङ्गा, गिट्टी र बालुवा उत्खनन हुने गरेको जानकारी प्राप्त भएको मुख्यमन्त्री सिंहले बताए ।