काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति सुरु गरेको छ ।
पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरूलाई सोही प्रणालीमार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ ।
पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब ३०० ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो ।
मुग्लिङ-पोखरा सडक विस्तार आयोजनासँगको समन्वयमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभरहेड) लाइन र पोलहरू हटाइएको छ । तार भूमिगत गरिएपछि गुजुल्टिएको तारले बनाएको कुरूपता हटी उक्त क्षेत्र सुन्दर देखिएको छ ।
सुरुमा कुँडहर सबस्टेसनसम्मको वितरण प्रणाली मात्र भूमिगत गर्ने व्यवस्था भए तापनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुले गुजुल्टिएको तारले कुरूप बनेको शहर देख्न नपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्वारसम्म विस्तार गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमशः विद्युत् आपूर्ति दिन र ओभरहेड संरचनाहरू हटाउन निर्देशन दिएका छन् ।
कार्यकारी निर्देशक घिसिङले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, एयरपोर्टलगायतमा क्षेत्रमा भइरहेको कामको अनुगमन गरेका थिए ।







