काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले पत्रकारलाई धम्की दिएको भन्ने कुरा अनर्गल प्रचार गर्ने पत्रकार महासंघलाई कहाँ, कति बजे, कुन मिडियामा के कसरी धम्की दिएको हो भन्दै प्रमाणित गरिदिन चुनौती दिएका छन् ।
धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने गरेको भन्ने निर्मता शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई दिएको प्रतिवेदनमा उल्लेख भएपछि मेयरको ध्यानाकर्षण भएको हो । मेयर साम्पाङले मंगलबार पत्रकार सम्मेलन गर्दै धम्की दिएको कुरा प्रमाणित गर्न चुनौती दिएका हुन् ।
नगर प्रमुखलाई मिथ्या आरोप लगाएको समाचार मिडियाहरूमा आएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस स्वतन्त्रताको नाममा जसले जसलाई पनि जथाभाबी आरोप लगाउन नमिल्ने उनले भनेका छन् ।
उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, आरोप पुष्टि गरेर समाजमा ल्याउन सकिन्न भने कसैको चरित्र हत्या गर्ने नियतले राजनीतिक पक्षधरता लिएर कसैले पनि जिभ्रो, कलम या क्यामेरा चलाउनु हुँदैन भनिएको छ । पत्रकारले समाजलाई विभक्त गर्ने विग्रह र कलह ल्याई आतंक सृजना गर्न मिल्दैन । पत्रकार कुनै दलको बन्नु हुँदैन। स्वतन्त्र र निष्पक्ष पत्रकारले मात्रै सत्य र तथ्यलाई आधार मानी देश र जनताको भावना, चाहना र आवश्यकता अनुसार काम गर्न सक्दछ भनिएको छ ।
