काठमाडौँ। अछाममा मृत भेटिएका दुई किशोरीको घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । शुक्रबार बेपत्ता भएका दुई किशोरी शनिबार मृत अवस्थामा फेला परेका थिए ।
शुक्रबार बाख्रा चराउन गएका ढकारी गाउँपालिका-८ पल्साताका १४ वर्षीया इसरा खड्का र १५ वर्षिया सरस्वती खड्का मृत भेटिएका थिए । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेको छ । घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको टोलीले थप अनुसन्धान गर्ने भएका छन् ।
प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सईको नेतृत्वमा टोली खटाइएको छ । जसमा एक जना पोलिग्राफ गर्ने असई पनि छन् ।
यस्तै प्रदेश प्रहरी प्रमुख डिआइजी गणेश चन्द पनि आज सोही घटना सम्बन्धमा अछाम जाने भएका छन् ।
अछाम जिल्ला अस्पतालबाट किशोरीहरूको शव पोस्टमार्टमका लागि सोमबार भेरी अस्पताल नेपालगञ्जमा पठाइएको थियो । पोस्टमार्टम सकिए पनि रिपोर्ट आउन बाँकी रहेको अछाम प्रहरीले जनाएको छ ।







