काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका घर भएका हाल काठमाडौँ महानगरपालिका-१४ बस्दै आएको २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल घर भएका हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन घर भई हाल काठमाडौँ महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८ बस्ने २४ वर्षीया विशाखा पौडेल रहेका छन् ।
पक्राउ मध्ये सुनिलले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ, विकाशले जापान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ३ लाख रुपैयाँ, सुरेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९७ लाख ५४ हजार रुपैयाँ र विशाखाले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
उक्त रकम लिए सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई काठमाडौँ टेकुबाट, सुरेन्द्रलाई काठमाडौँ महानगरपालिका-१४ बाट र विशाखालाई काठमाडौँ महानगरपालिका-१२ बाट आइतबार रविकाशलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये सुनिल, विकाश र विशाखालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।