काठमाडौँ। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत विभिन्न पार्टीबाट विद्रोह गरी गत वैशाखमा घोषणा गरिएको श्रमिक कम्युनिष्ट पार्टी विघटन भएको दाबी गरिएको छ ।
क्रान्तिकारी माओवादीका सचिवालय सदस्य पूर्णबहादुर सिंहको नेतृत्वमा घोषणा भएको सो पार्टीले सच्चा कम्युनिष्ट तथा श्रमजीवीको भावनाअनुसार काम गर्न नसकेको भन्दै पार्टी विघटन गरिएको दाबी राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख लोकेश विश्वकर्मा लगायत २५ जनाद्वारा हस्ताक्षर गरिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनीहरूले जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपलब्धि वास्तविक कम्युनिष्ट बाहेक अरूले गर्न नसक्ने हुँदाहुँदै पनि विभिन्न आरोप लगाउँदै पार्टी बनाउने र पुरानै धन्दा चलाउने प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् । विज्ञप्ति जारी गर्नेमा विदेश विभाग प्रमुख विश्वकर्मासहित राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरू रणबहादुर वि क, भिमसेन भट्ट, रोहित खत्री, वि एस पौडेल, ढुण्डिराज अधिकारी, विनोद भट्टराई, नवराज भुसाल, जितु तामाङ रहेका छन् ।



