काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूले आफैँमाथि अनुसन्धान गरेर देखाउन चुनौती दिएका छन् ।
पार्टीको तुलसीपुर नगर कमिटीले आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ‘प्रचण्ड’ले सो चुनौती दिएका हुन् ।
‘मैले सरकारमा रहेर आफ्नो अर्काको नभनी कारबाहीको प्रक्रिया अघि बढाएँ । अनुसन्धान खटिएका अफिसरहरूलाई अनुसन्धान गर्दै जाँदा ‘प्रचण्ड’ नै देखिए पनि कारबाही अगाडि बढाउनु भनेँ,’ ‘प्रचण्ड’ले सम्बोधनको क्रममा भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु । अहिले सकारको नेतृत्व गर्नेले मैले झैँ आफैँलाई अनुसन्धान गरेर देखाउनू ।’
‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल पनि गरेका छन् ।
‘हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौँ । तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन नि भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौँ । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नेछ,’ ‘प्रचण्ड’ले भने ।
तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको उनको दाबी थियो ।
‘सरकारबाट बाइएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भएँ । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु,’ ‘प्रचण्ड’ले भने ।