काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि घर भएका हाल काठमाडौँ महानगरपालिका-२ बस्ने ५० वर्षीय समुन्द्र अधिकारी, चितवन राप्ती १२ देउराली टार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका घर भएका भक्तपुर मध्यपुर थिमीमा बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन् ।
पक्राउ मध्ये समुन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ, राजमानले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५ हजार ५ सय रुपैयाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
सम्पर्कविहीन भएपछि उक्त पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले समुन्द्रलाई काठमाडौँ रातो पुलबाट, राजमानलाई काठमाडौँ महानगरपालिका-९ बाट र सुमन्तालाई काठमाडौँ महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।