काठमाडौँ । नेपाल सरकार र अन्तर्राष्ट्रिय मुद्राकोषबीच विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत हुने आर्थिक सुधारको पाँचौँ समीक्षामा कर्मचारीस्तरमा सहमति भएको छ । यससँगै नेपालले आईएमएफसँग लिएको ऋणको पाँचौँ किस्ताबापतको ४ करोड ६ लाख अमेरिकी डलर (करिब ५ अर्ब ६० करोड रुपैयाँ) निकाल्न पाउने भएको छ ।
कर्मचारीस्तरमा भएको सहमति आईएमएफको कार्यकारी बोर्डले स्वीकृत भएपछि मात्रै लागू हुनेछ । खासगरी नेपालले प्रतिबद्धता गरेअनुरूप देशका १० ठूला बैंकको ऋण पोर्टफोलियो समीक्षा सुरु गर्न महत्त्वपूर्ण कदम चाल्नुका साथै आर्थिक सुधारको गतिलाई कायम गरेको अवस्थामा मात्रै आईएमएफको कार्यकारी बोर्डले ईसीएफको समीक्षालाई निष्कर्षमा लैजाने जनाइएको छ ।
सारवत जहाँको नेतृत्वको आईएमएफको टोलीले २४ पुसदेखि ६ माघसम्म नेपालको भ्रमण गरेको थियो । टीमले नेपालको अधिकारीहरूसँगको छलफलपछि समीक्षामा कर्मचारीस्तरमा सहमति भएको जनाएको हो ।
नेपालले विदेशी मुद्राको अभाव झेलिरहेको बेला १२ जनवरी २०२२ मा आईएमएफले नेपाललाई २८ करोड २४ लाख स्पेसल ड्रइङ राइट (एसडीआर) अर्थात् ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर निर्ब्याजी ऋण सुविधा दिने निर्णय गरेको थियो । यसलाई विस्तारित कर्जा सुविधा (ईसीएफ) भनिएको छ । यसरी नेपालले आईएमएफसँग ऋण लिँदा विभिन्न आर्थिक सुधार गर्ने भन्ने प्रतिबद्धता व्यक्त गरेको छ ।