१. सुपुर्दगी
म आएको छु
विजयका हातहरू हल्लाउँदै
एउटा कोलाहलको जुलुस लिएर
जुलुस अराजक बन्न सक्छ
तिम्रा सुरक्षा घेरा भत्काउँदै
म नायक हुँ जुलुसको
मलाई समातेर पाता फर्काऊ
कानुनका डोरीहरूबाट
संविधानका
दफा/उपदफा पल्टाऊ
मलाई निर्मम यातना देऊ
र सुपुर्दगी गर
यो सभ्य सहर भित्र
म हेर्न चाहन्छु
जहाँ आदिम मान्छेहरू
पलायन भैरहेछन निरन्तर ।
२. बादशाह
मस्त निन्द्रा बाट ब्युँझेर
दन्ते कथामा जस्तै
फेरि पनि बादशाह उठे
आलिशान बंगलाको खोपीबाट
आँखा मिच्दै
हाइ काढ्दै
र आदेश दिए
हुकुमी शैलीमा
बुठहरु
नाङ्गा छातीमा परेड खेल
बन्दुकहरू
गाउँ बस्तीमा पड्कने गर
माइसापहरु के गदैछन कुन्नि ?
अस्मिता लुट्ने गर
बादशाह ज्युँदै छ
कुकुरहरू हो
भुक्ने गर
निरङ्कुशताको पनि सीमा हुन्छ
बादशाहलाई कठ घरामा नउभ्याए सम्म
हाम्रो मुक्ति नहुन सक्छ ।
३. आँखा
आँखा दुःखी रहेकै छ
थोपा थोपा बग्दै छ आँसु
किन बग्छन् आँसु ?
दुःखहरू बगाउनलाई
आतुरमा लोलाउँदैछन आँखाहरू किन ?
लोलाउँदैमा के मुक्ति मिल्छ र ?
म देख्दै छु सडक किनारमा
भिखारी हात थापिरहेछ
यो उसको नियति र नियमितता नै हो
किन भिख मागी रहेछन् मान्छेहरू ?
भिखारी बन्नु रहर या बाध्यता ?
कसले जवाफ दिन्छ ?
आँखाहरू दौडी रहन्छन्
किन दौडेका हुन यसरी ?
दर्जनौँ विभत्सता हेर्नलाई
मान्छेहरू निःशब्द छन्
विभत्सता हेरे पछि
आँखामा मुस्कान पनि हुन्छ भन्थे अलिकति
मुस्कान चोरी लग्यो कसले ?
आँखाहरू फुङ्ग छन किन ?
निराशा चिर्न नसकि
आशाहरू गुमाएर
किन बोक्ने वेदना ?
किन गाउँने विरह ?
शान्त छैनन् आँखाहरू
आँखाहरू दौडिरहेछन् अझै किन ?
नसम्झ आँखामा फुलो हाल्छु
फुलो हालेरै रात पार्छु
तिमीलाई अँध्यारो मन पर्यो भन्दैमा
मलाई अँध्यारो मन नपर्न सक्छ
मेरा आँखा उज्यालो खोज्छन्
अँध्यारो विरुद्ध धावा बोल्दै
यो जंगबहादुरको सालिक हो
क्रूरताको प्रतीक
जंगबहादुरको इतिहास दोहोरिनु छैन अब
पुनः कोत पर्वको कल्पना नगरे हुन्छ
आँखाहरू मौन छन किन?
आँखाहरूले पनि आन्दोलन गरे हुन्छ अब ।
सुन्दरहरैंचा–६, दुलारी, मोरङ