काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको आरोप लगाएका छन् ।
बुधबार सिंहदरवारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सरकारले ८० प्रतिशत जनतालाई दूषित पानी खुवाएको उनको भनाइ थियो ।
‘हामीले पानी त खुवायौँ तर दूषित पानी खुवाइरहेका छौँ । यो त गम्भीर विषय भयो नि । बरु नखुवाउँदै ठिक हुन्छ नि,’ उनले भने, ‘खानेपानी हामीले ९० प्रतिशतभन्दा माथि जनसंख्यालाई खुवायौँ भनेका छौँ । तर करिब ८० प्रतिशत जनतालाई त दूषित पानी खुवाएका छौँ ।’
नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने बताउँदै उनले गुणस्तरमा ध्यान दिनुपर्ने बताए । साथै, शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ ध्यान नगएको जिकिर गरे ।
‘शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ । त्यही पनि त्यसको गुणस्तर त आफ्नो ठाउँमा छ । किन १० लाख १५ लाख विद्यार्थी सुरुमा हुन्छ,’ उनले अघि भने, ‘अन्तिममा पुग्दा माध्यामिक विद्यालयसम्म पुग्दा ५ लाख पनि हामी बुझाउन धौ धौ । हामी डाटामा आफूलाई अब्बल देखाउनको निम्ति खाजा भन्ने वस्तु देखाउँछौँ, र भर्नातिर ल्याउँछौँ । क्वान्टिटिमा बढी ध्यान दिने तर क्वालिटीमा छैन ।’