Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चिसो सिरेटो र पारिलो घाम


२ माघ २०८१, बुधबार


सृष्टिको अनन्त र अद्भुत चक्रमा हामी दिन रातको फरक अनुभव गर्दै यात्रा गरिरहेका छौँ । समय र वातावरणको परिवर्तनसँगै हाम्रो जीवनका क्षणहरू पनि फरक-फरक रूप लिएर आउँछन् । यसै आधारमा, ‘चिसो सिरेटो र पारिलो घाम’ शब्दहरू जति सामान्य सुनिन्छ, त्यति नै गहिरा छन् । 

यी दुई भिन्न प्रकृतिहरू एक-अर्कामा समाहित भएर हाम्रो जीवनका उतार–चढावलाई जनाउँछन् । चिसोमा पारिलो घामको उपस्थिति मीठो मिलनको संयोग हो । चिसो हुनु, सिरेटो चल्नु तर पारिलो घाम नलाग्नु भइदियो भने विजोकै हुन्छ । थर्थर मुटु काम्ने जाडोले एकै डल्लो पार्छ ।

चिसो सिरेटो । जब हावा सर्दीले गढ्न थाल्छ, वेगले बतास सुइसुइल्याउँदै चिस्याउन आतुर हुन थाल्छ । यस्तोमा न्यानो मायालु मन टाढिएको हुन्छ । शिशिरको शीतलहरसँगै सौन्दर्यसमेत लुकेको हुन्छ, । यस्तोमा मनमा अज्ञात डर उत्पन्न हुन सक्छ । चिसोको पीडा मात्र शरीरको अनुभव हुँदैन, यसको गहिराई हृदयमा पनि समाहित हुन्छ । चिसो सिरेटो मान्छेको जीवनका कठिनाइ र निराशाका प्रतीकको रूपमा प्रकट भइरहेको हुन्छ । 

हामी जीवनमा अनेक किसिमका संघर्ष र चुनौतीहरू भोगिरहेका हुन्छौँ, चिसो सिरेटोको अनुभवले हामीलाई एक प्रकारको मानसिक र शारीरिक थकाइमा पार्छ । यति बेला पनि यो सिरेटो हामीलाई जीवनका गहिरो पाठ पढाउन थाल्छ । कठिनाइहरूले हामीलाई सहनशील र परिपक्व बनाउँछ ।

हाम्रो जीवनमा चिसोको कुरा मात्र हुँदैन । त्यहीँ, पारिलो घाम पनि हुन्छ, जसले हाम्रो जीवनलाई ऊर्जासँग भरिदिन्छ । जीवनका अन्धकार घडीहरूमा पारिलो घाम एक आशा र प्रकाशको रूपमा उदाउँछ । जस्तो कि एक सस्तो बत्ती पनि अन्धकारमा आफ्नो अस्तित्व देखाउँछ । 

त्यस्तै पारिलो घामले हाम्रो थकाइलाई हराउँछ र नयाँ आशा, नयाँ जीवनका सम्भावनाहरू खोतल्न थाल्छ । मनमा जताततै घना अन्धकार भए पनि, पारिलो घामले त्यसलाई उज्यालो पार्दै चिर्ने हिम्मत दिन्छ ।

चिसो सिरेटो र पारिलो घामको संगममा जीवनको वास्तविकता बाँचिन्छ । यस संसारमा दुःख र सुख, संघर्ष र विजय, अन्धकार र उज्यालो दुवैको हुन्छ । चिसो सिरेटो हाम्रो जीवनमा प्रवेश गर्दा हामीले अझ बढी सहनशीलता र आत्मविश्वासको निर्माण गर्न सकिन्छ । 

त्यसपछि जब पारिलो घाम फैलिन्छ, हामीलाई थाहा हुन्छ कि सबै कठिनाइ र पीडाबाट पार पाएको क्षणमा नै खुसी र सन्तुष्टि मिल्न सक्छ ।

अन्ततः, ‘चिसो सिरेटो र पारिलो घाम’ एक महत्त्वपूर्ण जीवन–पाठ हो । तत्पश्चात् हामीले दुःखलाई सहन गरेर खुसीको महत्त्व बुझ्न सक्छौँ । जीवनलाई पूर्णरूपमा अनुभव गर्न सक्छौँ । यो संघर्ष र विजयको बीचको यात्रा हो । यसले हामीलाई मानिसका रूपमा परिपक्व र सशक्त बनाउँछ ।

शिशिर यामको हिउँदे साँझ–बिहान चिसो सिरेटोले हैरान पार्छ । हिउँ पर्ने दृश्य र ठन्डीको महसुस हाम्रो देशका अधिकांश ठाउँमा हुन्छ । तराईमा शीतलहरले कतिको ज्यानै खान्छ । पहाडमा तुषारोले चिसोपनको आभास गराउँछ । यिनै मौसमी परिर्वनका बीच चिसो सिरेटो र पुसको पारिलो घामको संयोजन यौटा पृथक् प्राकृतिक सन्तुलनको सौजन्य सार्वजनिक हुन्छ । यी सबैले हामीलाई प्रकृतिको नियमित चक्र र जीवनको खास सन्देश दिन्छ । 

एकतर्फ चिसोको प्रभावले शारीरिक कष्ट र मानसिक असन्तुलन उत्पन्न गर्छ । अर्कोतर्फ हिउँदको पारिलो सूर्यले हाम्रो हृदयलाई खुसी र आशाको ऊर्जा प्रदान गर्छ ।

पुस र माघको महिनाले प्रायः अन्धकार र चिसोको वातावरण ल्याउँछ । सिरेटोको स्याँठले अन्ततः हाम्रो कोमल कमनीय शरीरलाई काँप्न बाध्य बनाउँछ । तैपनि, यस चिसोको बीचमा पनि, शिशिर ऋतुको सूर्यले आफ्नो पारिलो उज्यालो फैल्याउँछ । प्रायः जसो बिहान, घरका आँगन र बगैँचामा सूर्यको न्यानोपन कमजोर हुन्छ । दिन छिप्पिँदै जान थालेपछि बल्ल सूर्यका किरणहरूमा न्यानोको मात्रा बढ्न थाल्छ । यस्तो बेला सूर्यको प्रकाशले सबै वस्तुलाई एक नयाँ जीवनको आभा दिन्छ । 

धरती, सारा प्राणी र हामी मान्छेलाई पनि यस न्यानो घामले थोरै भए पनि आराम र शान्ति दिन्छ । यो दृश्यले एक प्रकारको प्रेम र आशाको प्रतीक बनाउँछ ।

यस्तो समयमा पुसको सूर्य हामीलाई केवल शारीरिक गर्मी मात्र होइन, जीवनका कठिनतम घडीमा पनि आशा र उत्साहको अनुभूतिले बाँच्ने प्रेरणा दिलाउँछ । 

यसरी चिसोको कठोरतासँग जुध्दै, मन र शरीरका थकाइलाई परास्त गर्न हामी पुसको सूर्यको न्यानोमा विश्राम खोज्छौँ । त्यस्तै गरी जीवनका कठिन समयको सामना गर्दा हामी आशा र साहसको खोजीमा रहन्छौँ । यसले नै हामीलाई अगाडि बढ्न सिकाउँछ ।

तथापि यो चिसो सिरेटो हामीलाई धेरै  पाठ पढाउँछ । यसले हामीलाई समयको मूल्य र संघर्षको महत्त्व सिकाउँछ । चिसोको असह्य अवस्थाबाट पार पाउने चेष्टा गराउँछ । बाक्लो र न्यानो लुगा लगाउने प्रेरित गर्छ । घर कोठा न्यानो पार्ने र सकेसम्म जाडोलाई घरबाहिरै राख्ने ज्ञान दिन्छ । सचेत पार्दै जीवनलाई सुरक्षित राख्न लगाउँछ ।

बिहानको पहिलो किरण पृथ्वीमा पुग्छ, संसार एकदम शान्त र चुपचाप हुन्छ । त्यस बेला वातावरणमा एउटा अजिब प्रकारको शीतलता र ताजगी हुन्छ, जसले हाम्रो मनलाई शान्त बनाउँछ । हावा चिसो र हल्का लाग्छ, तर जसरी सिञ्चन गर्ने पानीले माटोको सुगन्ध निकाल्छ । त्यस्तै यस समयमा सिञ्चन हुँदै गरेको माटोको मोहक सुगन्ध र कर्णप्रिय  ध्वनिहरू एकदमै ताजा लाग्छ । 

बिहानीको चिसो सिरेटोले जीवनलाई एक नयाँ ऊर्जा र उत्साहको साथ दिन्छ । त्यस्तो समय जसमा संसार नयाँ उमङ्ग र जीवनको नौलो गन्तव्यतिर प्रस्थान गर्छ ।  वास्तवमा यही समय हो हामी सधैँ नयाँपनको खोजी गर्छौँ । आफ्नोपनलाई कायम राखेर त्यसमा समयसापेक्ष नवीनताको प्रवेश गराउँछौँ ।

हिउँदको पारिलो घाम जीवनको समृद्धिको प्रतीक हो । यसले कडा परिश्रम र संघर्षपछि आउने सुखको स्वाद चखाउँछ । यो पङ्क्तिबद्ध दृश्यहरूले हामीलाई जीवनका विभिन्न पक्षको भोगाइको स्मरण दिलाउँछन् । बिहानीको चिसो र पुसको पारिलो घाम जस्तै जीवनका सुख–दुःखका क्षणहरू पनि एकै चिजका फरक रूपहरू जस्ता हुन्छन् । 

त्यस्तो समय जब हामी हराइरहेका हुन्छौंं कामतमामका अनेकांैं झमेलाहरूमा, त्यहाँ बिहानीको चिसो सिरेटोको जस्तो मधुर स्पर्शले शान्ति मिल्छ । हामी थकित हुँदै पनि काममै डुबेका हुन्छौँ, त्यस्तो समय पुसको पारिलो घामले हाम्रो लागि ऊर्जा र निरन्तरता ल्याउँछ ।

यसरी बिहानीको चिसो सिरेटो र पुसको पारिलो घाम जीवनका विभिन्न भावनात्मक अवस्थाहरूको प्रतीक हुन् । तिनीहरूले हामीलाई यो बुझाउँछन् कि संसारको हरेक अवस्थालाई स्विकार्दै अघि बढ्नु महत्त्वपूर्ण छ । 

वस्तुतः चिसो सिरेटोले जीवनका दुःखहरूलाई सम्झाउँछ । ती सिरेटाहरू ठ्याक्कै ती कठिन दिनजस्तै लाग्छन् । त्यसले हाम्रो हिम्मतको परीक्षा लिन्छन् । तर यिनको आफ्नै सौन्दर्य पनि हुन्छ । सिरेटोले आकाशको नीलो र सेतो बिन्दुहरूको क्यानभास तयार गर्छ । रुखका पातहरू हल्का तरिकाले हल्लिन्छन्, मानौँ प्रकृतिले आफ्नै तालमा सास फेरिरहेजस्तै लाग्छ ।

चिसो सिरेटोले हामीलाई सचेत गराउँछ– जीवन सधैँ सरल हुँदैन । जाडोको कठोरता जस्तै, हाम्रो यात्रामा पनि कहिलेकाहीँ कठिन मोड आउँछन् । तर यस्ता सिरेटाहरूले नै हामीलाई संघर्ष गर्न सिकाउँछन् । सचेत पार्छन् । सजग राख्छन् । विवेकले काम गर्न लगाउँछन् ।

चिसोको विपरीत पारिलो घाम न्यानोपनको प्रतीक हो । घामले जीवनमा आशा, आनन्द र पुनर्जागरण ल्याउँछ। त्यो घामले बिहानको ओसलाई सुकाउँछ । रुख–पातलाई चम्किलो बनाउँछ, र चराहरूलाई फेरि गुनगुनाउन प्रेरित गर्छ ।

पारिलो घामले हामीलाई सम्झाउँछ कि जीवनमा दुःखको पछि सधैँ सुख आउँछ । जस्तो चिसो सिरेटोले पिरोल्छ, त्यस्तै पारिलो घामले हाम्रो घाउलाई निको पार्छ । घामको प्रत्येक किरण एउटा नयाँ सुरुवातको संकेत हो ।

चिसो सिरेटो र पारिलो घाम जीवनका दुई महत्त्वपूर्ण पक्ष हुन् । दुःख र सुख, कठिनाई र सफलता, दुःस्वप्न र सपनाजस्तै । प्रकृतिले हामीलाई यो जीवन–चक्रको अर्थ बुझ्न प्रेरित गर्छ ।

चिसो सिरेटोले हामीलाई हिम्मत दिन्छ । पारिलो घामले मुस्कान ल्याउँछ । यी दुईको संगमले हाम्रो मनलाई सन्तुलित राख्छ । जीवनमा पनि यस्तै हुनुपर्छ-कठिनाइ र खुसीलाई स्वीकार गरेर अघि बढ्नु ।

Tags :
प्रतिक्रिया दिनुहोस