काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिन सकिने प्रपञ्च गरेको आरोप लगाएका छन् ।
पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भू-माफियाको स्वार्थपूर्ति गर्ने खेल भएको हुनसक्ने आशंका व्यक्त गरे ।
उनले भनेका छन्, ‘प्रम केपी ओलीको अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिन सकिने प्रपञ्च गर्दैछ । पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भू-माफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ?’
सरकारले जारी गर्न सिफारिस गरेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकेका छन् । सरकारी जग्गा सुकुमबासीको नाममा वितरण गर्ने र विदेशी लगानी भित्र्याउने भन्दै सरकार जग्गा लिजमा दिने जस्ता केही व्यवस्थाहरू भएकै कारण राष्ट्रपतिले अध्यादेशमा रोक लगाएको बताइएको छ ।’