काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित दर्जन बढी सचिवहरूको सरुवा गरिएको छ। शुक्रबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय र प्रदेश स्तरमा कार्यरत सचिवहरूको जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो।
प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा पठाइएको छ भने त्यहाँका सचिव रवीलाल पन्थलाई सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ। पछिल्लो समय मन्त्री राजकुमार गुप्ता र सचिव सुबेदीबिच चरम असन्तुष्टि उत्पन्न भई भेटघाट तथा बोलचालसमेत बन्द रहेको अवस्थामा यो निर्णय भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। त्यहाँका सचिव मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा महालेखा नियन्त्रक कार्यालयका नियन्त्रक विनोदप्रकाश सिंह आएका छन् भने डा. गणेशप्रसाद पाण्डेलाई महालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ।
उपराष्ट्रपति कार्यालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा खटाइएको छ। सो मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख सचिव डा. हरिप्रसाद लम्साललाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको छ भने त्यहाँका सचिव सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याइएको छ ।
लुम्बिनी प्रदेशमा वरिष्ठ सहसचिव बाबुराम अधिकारीलाई प्रदेश प्रमुख सचिव बनाई पठाइएको छ भने लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई बागमती प्रदेशको प्रदेश प्रमुखमा खटाइएको छ। यसैगरी, कर्णाली प्रदेशका प्रदेश प्रमुख सचिव चूडामणि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ। पौडेलको ठाउँमा मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याललाई पठाइएको ती मन्त्रीले जानकारी दिएका छन् ।
यसैगरी मदन भुजेललाई मधेश प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवमा खटाइएको छ ।
सरुवासँगै अधिकांश सचिवहरूले पत्र बुझिसकेका छन्। सम्भवतः सरुवा भएका सचिवहरूले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछन्।