काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट तीन कानून व्यवसायीले बहस गरेका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठसहित तीन जनाले बहस गरेका हुन् । श्रेष्ठसहित वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेको जिल्ला अदालत कास्कीले जनाएको छ । रविको तर्फबाट बहस गर्न १७ अधिवक्ताले नाम टिपाएका छन् । भोलि पुनः निरन्तर हुने छ ।
रवितर्फबाट बहस गरेका अधिवक्ताले सहकारीसँग रविको कुनै सम्बन्ध नरहेको दाबी गरेका थिए । उनीहरूले सहकारीमा रवि सदस्य पनि नरहेको र उनलाई यसमा जोड्न नहुने तर्क थियो ।
यसअघि पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईका तर्फबाट अधिवक्ताले बहस गरेका थिए । रविका तर्फका अधिवक्ताको बहसपछि आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङका अधिवक्ताको बहस हुनेछ । त्यसपछि सरकारी वकिल कार्यालयले जवाफी बहस गर्नेछ ।