काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र संवर्द्धन गर्नुपर्ने बताएका छन् । मंगलबार पाल्पाको रामपुरमा गणेशमान सिंह स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्दै उनले संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्था बलियो बनाउनुपर्ने बताए । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा चर्चा गर्दै उनले काँधमा आएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
सिंहल ०३३ पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्किएका वीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरूको स्वागतमा विमानस्थल पुगे पनि प्रहरीले सिधै गिरफ्तार गरेको सन्दर्भ स्मरण गरे । ‘प्रजातन्त्र, प्रजातान्त्रिक मूल्य मान्यता हामीलाई चाहिन्छ । त्यतिले मात्र पुग्दैन राष्ट्रियता पनि बलियो हुनुपर्छ भन्नेमा उहाँहरूले जोड दिनुभएको थियो,’ उपप्रधानमन्त्री सिंहले भने,‘ आजको दिनमा हामीहरूले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण,संवर्द्धन गर्नुपर्छ ।’ त्यसका लागि नेपाली काँग्रेस पार्टीलाई आउँदै गरेको चुनौती सामना गर्न सक्षम, प्रभावकारी र व्यवस्थित पार्टी बनाउनतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए।
लोकतन्त्र सुदृढ गर्न र राष्ट्रियता मजबुत बनाउन सक्ने गरी काँग्रेसलाई अगाडी बढाउन सके संस्थापक अग्रज नेताहरूको साँचो सम्मान हुने पनि उनले बताए । प्रजातन्त्र बचाउने र राष्ट्रिय बलियो बनाउने नीति लिएर काँग्रेस अघि बढ्नुपर्नेमा सिंहले जोड दिए ।
‘तत्कालीन समयमा दक्षिण एसियाका देशहरूमा अस्थिरता बढेको र राष्ट्रियता नै संकटमा परिरहेको थियो । त्यसबेला वीपी कोइराला, गणेशमान सिंह राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर देशको राष्ट्रियता जोगाउनका लागि चुनौती मोलेरै स्वदेश फर्कनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो,’ सिंहले भने, ‘राष्ट्रियतामाथिनै आँच आउन सक्ने सम्भावना भएकाले प्रजातन्त्रवादीहरुले त्यस्तो अवस्थामा दुख कष्ट गरेर भए पनि राष्ट्रियता जोगाउन देशभित्रै बस्नुपर्छ भन्ने नीति लिएर आउनुभयो । ’ काँग्रेसका संस्थापक नेताहरुले प्रतिपादन गरेको सिद्धान्त र स्थापित गरेको प्रजातान्त्रिक मूल्य मान्यताको कदर गर्नुपर्ने पनि उनको भनाई थियो ।







