काठमाडौँ। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राई छिन् । उनलाई मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ९१ हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ । रकम लिएपछि सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको उनलाई काठमाडौँ चण्डोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।