काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटकहरूलाई सहजीकरण गर्न विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । सोमबार बसेको त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिएका हुन्।
‘त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । धेरै गुनासाहरू आउने गरेका छन् । सुरक्षा निकायको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ, ‘उनले भने, ‘एकपटक आउने विदेशी पर्यटकलाई पटक-पटक आउने खालको वातावरण बनाउनुपर्छ ।’
मन्त्री पाण्डेले त्रिभुवन विमानस्थल विदेशीहरूका लागि प्रमुख प्रवेशद्वार भएकाले राष्ट्रिय पहिचान झल्किने खालको पोशाक लगाउन समेत आग्रह गरे।
मन्त्री पाण्डेले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलले हाल ९० लाख यात्रुहरूलाई सेवा दिनुपर्ने बाध्यता रहेको स्मरण गर्दै प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्न समेत आग्रह गरे। उनले विमानस्थलमा देखिएका समस्याहरूको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न समेत निर्देशन दिए। मन्त्री पाण्डेले भने, ‘भन्सार, अध्यागमन, एयरलाइन्स, क्यान कसले के के ? काम गर्ने र कति समय भित्र गर्ने भनी प्राथमिकरण गर्नुहोस्। त्यसका लागि १५ दिन भित्र कार्ययोजना बनाएर अघि बढ्नुहोस् ।’