काठमाडौँ। नेपाली पर्यटन व्यवसायीलाई ६ महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा भएको प्रशिक्षण नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटकसँग अझ प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको थियो ।
यो कार्यक्रम समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, चिनियाँ दूतावासका मिसन उपप्रमुख वाङ सिन र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद् अध्यक्ष डा। हरिशचन्द्र शाह लगायत उपस्थित थिए ।
यस वर्षको कार्यक्रममा १ सय जना सहभागी थिए । तीमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्ड अनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गर्न सफल भएको पर्यटन बोर्डले जनाएको छ ।
प्रशिक्षित सहभागी अब नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको बढ्दो चाप सम्बोधन गर्न सक्षम भएको बोर्डको भनाइ छ ।