काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमाले नेता वामदेव गौतमसँग फोनसंवादको एउटा रमाइलो किस्सा सुनाएका छन् । ओलीका अनुसार आजै उनलाई फोन गरेर गौतमले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।
आफूलाई राजेश बज्राचार्य (स्वकीय सचिव) सम्झिएर वामदेव पड्किएको ओलीले सुनाए । एउटा फेक भिडिओ हेरेर वामदेव जंगिएको उनको भनाइ छ ।
‘एआइको जमाना छ, के के कुराहरू तोडमोड भएर आउँछन् पत्तो हुँदैन,’ ओलीले भने, ‘एउटै चिज बोल्या छ, यता कटायो उता कटायो ल्याएर जोड्यो, कस्तो लाज नभएको होला ।’
त्यसपछि उनले सुनाएको वामदेवको किस्साः
‘अहिले भर्खर गाडीमा आउँदै थिए, वामदेवजीको फोन आयो । फोन राजेशसँग थियो, वामदेवजीको नम्बर देखेपछि मैले उठाएर हेलो भनेँ । कुरा गर्दै गइयो । उहाँले भन्नु थाल्नुभयो- मदन भण्डारी काँग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ‘ काँग्रेसले मार्छ भन्ने थाहा थियो, काँग्रेसले मार्या हो भन्ने पनि थाहा थियो, तर अब म बुढो भइसकेँ, जेसुकै भए पनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु भनेर‘ सबै मेरै स्वरमा छ । कुराको अन्तिममा त‘ तिम्रो ठुलोबालाई भन्देउ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ । यस्तो भनेर पड्किनुभो । हस् हजुर भनेँ । अब के भन्नु । हस् म भन्दिउँला भनेँ । फोन राखेँ ।
उहाँलाई समेत भ्रम पर्ने गरी‘भ्रम त पर्नु नपर्ने हो किन भने वामदेव गौतमजी र म ‘त एउटै विचारमा नङ र मासु जसरी एउटै यात्रामा हिँडेका साथी हौँ । अहिले उहाँलाई के केले छोयो के के भयो म भन्न सक्दिनँ । उहाँले मेरो आवाज युट्युबमा बोलेको चिन्नुभो, तर म उहाँसँग कुरा गरिराख्या छु, त्यो चाहिँ चिन्नुभएन । काँग्रेस र मेरोबीचमा लडाई लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनायो होला ।’