काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरका पाँचजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभा चिचिला गाउँपालिका-२ दिदिङ घर भई काठमाडौं ज्याठा बस्ने २४ वर्षीय लाक्पा शेर्पा, नुवाकोट तादी नगरपालिका-१ उर्लेनी घर भई काठमाडौँ ठहिटी बस्ने २१ वर्षीय रंजित तामाङ, तनहुँ आँबुखैरेनी गाउँपालिका-१ सत्र सय घर भई काठमाडौँ बाफल बस्ने २२ वर्षीय कृष्णबीर मगर भन्ने कृष्पिन थापा, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-९ घर भई काठमाडौं बालाजु बस्ने २६ वर्षीय सोनु लामा र २१ वर्षीया राधा लामा रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-२६ ठमेल जेपी मार्गस्थित कर्मा क्लब नजिकै एक जना पुरुष व्यक्तिलाई गत कात्तिक १६ गते राति ज्यान मार्ने उद्देश्यले रड, नक लगायत धारिलो हतियार प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रही फरार भएका थिए ।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको हो । आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनीहरूलाई प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको प्रहरीले जनाएको छ ।







