काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय विष्णु लोप्चन रहेकी छन् ।
प्रहरीका अनुसार विष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१५ बाट मंगलबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







