काठमाडौँ । न्याय सम्पादनदेखि ऐन, कानुन र संविधानसम्मको चर्चा गर्दै नेपाल बार एशोसिएसनको ५० औँ कार्यकारिणी परिषद् बैठक पोखरामा सुरु भएको छ । बैठकमा देशभरका १ हजारभन्दा बढी कानुन व्यवसायी सहभागी छन् ।
न्यायालयलाई राजनीतिमुक्त गराउने आन्दोलन पोखराबाट सुरुवात भएको भन्दै न्यायालयभित्रको विकृति हटाउनुपर्ने उद्घोष नेपाल एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको थियो ।
न्यायाधीशहरूमा कार्यकारीको भोक जागेकाले त्यसकाविरुद्ध आफूहरू उभिने बार अध्यक्ष घिमिरेले बताउँदा बैठक उद्घाटन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त बेञ्चमा न्यायाधीशहरूलाई झलझल पार्टीको अनुहार देखिएको बताए ।
बैठक उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले न्याय सम्पादनमाथि प्रश्नमात्रै उठाएनन्, न्यायाधीशहरूको अनुहार राजनीतिक दलकोजस्तो देखिएको पनि बताए ।
अहिलेसम्म न्यायालयको बेञ्चसमेत नदेखेको बताउँदै पाण्डेले यो वर्ष दुई पटक न्यायालयको बेञ्च देख्ने अवसर पाएको दाबी गरे । उनले त्यो दुई पटकमा माथि बेञ्चमा बस्ने न्यायाधीशहरूलाई राजनीतिक पार्टीजस्तो देखेको दोहोर्याए ।
‘मैले अघि पनि भने कि माननीय-सम्मानीयहरू माथि आउनुहुन्थ्यो । कस्तो फिल हुन्थ्यो भन्दा झलझल पार्टीको अनुहार देखिन्थ्यो । म आफू पनि राजनीतिक व्यक्ति, तलतिर बसेर माथितिर हेर्दा चाहिँ पार्टीपार्टीजस्तो देखिने, राजनीतिक दल-दलजस्तो देखिने,’ पाण्डेको अभिव्यक्तिले हलमा हाँसो र ताली गुञ्जियो ।
न्यायालय कहिल्यै स्वविवेकी नहुने बताउँदै मुख्यमन्त्री पाण्डेले न्यायलाई पनि कानुन र संविधानले गाइड गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।