गृहकार्य बिनै भावनामा बगेर जनतालाई झुटो आश्वासन दिने प्रवृत्ति पछिल्लो समय झनै मौलाउँदै गएको छ । नेताहरूका सस्ता भाषणबाट जनता त्यसै हैरान छन् ।
नेताहरूले बोल्नु अघि त्यसको कुनै न कुनै गृहकार्य, सम्भाव्यता अध्ययन र योजना निर्माण भएको हुनु पर्दछ । त्यसो नगरीकन हचुवाका भरमा बोल्नु मतदातालाई ढाँट्नु हो । सार्वभौम नागरिकको अपमान गर्नु हो । जनता ढाँट्ने अधिकार नेता र दललाई हुँदैन । तर नेताहरूले बोल्ने हरेक भाषणमा त्यति सत्यता भने छैन ।
गृहकार्य बिनै भावनामा बगेर जनतालाई झुटो आश्वासन दिने प्रवृत्ति पछिल्लो समय झनै मौलाउँदै गएको छ । नेताहरूका सस्ता भाषणबाट जनता त्यसै हैरान छन् । कुनै नेताले भएकै कुरा सार्वजनिक कार्यक्रम वा कुनै सभा समारोहमा गरे भने पनि जनताले त्यति चासो दिएर सुनेका हुँदैनन् ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत बिहीबार कीर्तिपुरको चुनावी सभामा गरेको सम्बोधन यति बेला चर्चामा छ । उक्त सभामा थापाको दुई वटा अभिव्यक्ति सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।
उनको पहिलो अभिव्यक्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्तैपिच्छे सन्देश पठाउने गरेको दाबी गरेका थिए । थापाले भनेका थिए, ‘अहिले पनि प्रचण्डले हप्तामा एक पटक काँग्रेसलाई खबर पठाउनुहुन्छ । लौ न प्रधानमन्त्री बनिदिनु पर्यो भनेर ।’
अभिव्यक्तिप्रति प्रचण्डको खण्डन
थापाको अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले खण्डन गरेका छन् । गत शनिवार कागेश्वरी मनोहरा–२ स्थित आलापोटमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गगन थापाले सरासर झुट बोलेको र आफूले सरकार ढाल्ने विषयमा काँग्रेसका सभापति तथा अन्य नेताहरूसँग कुनै कुराकानी नगरेको बताए । ‘प्रचण्ड’ले थापाको अभिव्यक्तिको खण्डन गर्दै भने, ‘एउटा युवा नेताको रूपमा गगन थापासँग मेरो धेरै वार्ता संवाद हुने गर्थ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र यति तल झरेर हुँदै नभएको झुटो कुरो जनताको अगाडि बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ ।’
एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो अनैतिक कुरा गर्न सक्ने भएको देख्दा आफूलाई दया लागेको प्रचण्डले बताएका थिए । ‘म अहिले बढी भन्न चाहन्न । शतप्रतिशत झुटो कुरा हो । मैले भनेको थिइनँ, भन्दा पनि भन्दिनँ,’ प्रचण्डले भनेका थिए, ‘सरकारबाट बाहिर आएर जनतामा जाँदा नै सहज भइराखेको छ । सरकार ०८४ सम्म चलाउनोस् भनेको छु मैले । यो विषयमा शेरबहादुरजीसँग कहीँ कतै प्रत्यक्ष–परोक्ष केही कुरा भएकै छैन ।’
अर्को अभिव्यक्तिले सामाजिक सञ्जालमा हलचल
अर्को, अभिव्यक्तिमा थापाले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै महिनामा ३/४ लाख कमाउन सकिने दाबी गरेका थिए । उनले भनेका थिए, ‘अहिले केटाहरू कतार काम गर्न गएका छन्, बहिनीहरू इजरायल काम गर्न गएका छन् । मुठ्ठी कसेर मात्रै ती फिर्ता आउँदैनन्, भनेर मात्रै आउँदैनन् । कतारमा पाएकोभन्दा बढी तलब पाउने बनाउनुपर्छ हामीले यहाँ,’ थापाले भनेका थिए ।
उनले यसो गर्न सकिने तर्क पनि गरेका थिए । ‘कीर्तिपुरलाई यस्तो नमुनाको नगर बनाउन सकिन्छ, जसको घरबाट निस्केका बच्चाहरूले अबको ५, ६, ७, ८ वर्षपछि, यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यहीँ कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख आम्दानी गर्नेछन् भन्ने ती तन्नेरीहरू बनाउन सकिन्छ, कीर्तिपुरले बनाउँछ ।’
मासिक १८ हजारको न्यूनतम तलब भएको नेपालमा महिनामै ३÷४ लाख कमाउने नागरिकले सामान्य रूपमा पत्याउन सकेनन् । त्यही भएर हुनसक्छ, यो स्टेटमेन्टलाई लिएर अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ । यतिसम्म कि ‘एआई’बाट डाँडोमा बसेर ल्यापटप चलाइरहेको चित्र बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने ट्रेन्ड नै चलिरहेको छ । सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै जसो युवाहरूले गगन थापाले बोलेको कुरालाई लिएर अनेकथरी धारणा व्यक्त गरिरहेका छन् ।
कीर्तिपुर नगरपालिका उपनिर्वाचन प्रचारप्रसारको अन्तिम दिनको सभामा थापाले बोलेका उक्त विषयले यतिखेर सामाजिक सञ्जाल तताएको हो । उपनिर्वाचन सकिई सक्दा पनि युवा जमातले टीकाटिप्पणी गर्न छोडेका छैनन् ।
सपना देखाउने तर पुरा नगर्ने नेताको शैली
२०७४ को आम र स्थानीय निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेका थुप्रै कुरा अहिले उनैलाई नै अप्ठेरो पारेको छ । घरघरमा ग्यास पाइप, हनुमान नगर–कलकत्ता पानी जहाजको टिकट, हिन्द–प्रशान्त महासागरमा नेपालको ध्वजाबाहक पानी जहाज सेवा, केरुङको चिनियाँ रेल ५ वर्षभित्रै काठमाडौँ–पोखरा हुँदै मुस्ताङ र लुम्बिनी, काठमाडौँमा ५ वर्षभित्र मोनो र मेट्रो दुवै रेल निर्माण, प्रतिव्यक्ति आय ५ वर्षभित्र ५ हजार डलर, हरेक असक्षम नागरिकलाई मासिक १० हजार पकेट खर्च, यस्ता दर्जनौँ भाषण ओलीले गरेका थिए, जो पूरा भएनन् ।
उनका यी भनाइले आम नागरिकलाई ‘नेताहरू झुटो बोल्छन्, यिनको बोलीको कुनै विश्वास हुँदैन’ भन्ने भान पार्यो । ‘देशलाई १० वर्षभित्र सिंगापुर र स्वीट्जरल्याण्डजस्तो बनाइने छ’ भन्ने भाषण त्यो बेला रोचक र रोमाञ्चक लाग्थे, आज धेरैले हाँसोमा उडाउँछन् । सपना देखाउने, निराशा चिर्ने र युवा पुस्तालाई उत्साहित बनाउने नाममा गरिने नेताहरूका यस्ता भाषणले नागरिक स्तरमा नकारात्मक असर पार्दै लगेको छ । किनकि, त्यो आफैँमा बदनाम र कमजोर भइसकेको राजनीतिक संस्कृति हो भन्दा फरक नपर्ला । यस्तो राजनीतिक संस्कृति रहिरह्यो भने अघिल्लो पुस्ताकै नेताहरूको प्रवृत्तिको पुनरावृत्तिले नयाँ पुस्ताबाट अपेक्षित नयाँपनको आभास दिन सकिँदैन ।
५-७ वर्षभित्र कीर्तिपुरका डाँडालाई नेपाली युवाले एउटा ल्यापटपको भरमा महिनाको २–४ लाखसम्म कमाउन सक्ने बनाउने थापाको भाषण नराम्रो हैन । नराम्रो त ओलीका पनि कुनै भाषण हैनन् । सैद्धान्तिक रूपमा ती असम्भव पनि छैनन् । तर देश अहिले कुन हालतबाट गुज्रिरहेको छ ? यस्ता सवाल र योजना कुनै दलको उम्मेदवारको हारजितसँग जोडिएको हुन्छ ? यस्ता कुराको प्रष्टता बिना चुनावी भाषण हावादारी गफमै विलीन हुन्छ ।
निश्कर्ष
नेपाली राजनीतिमा नेताहरूले आशा र प्रेरणाका नाममा भव्य र अप्रत्यक्ष रूपमा असम्भव देखिने वाचाहरू गर्ने परिपाटी अझै कायम छ। गगन थापाले हालै गरेको अभिव्यक्तिले यस प्रवृत्तिलाई पुनः उजागर गरिदिएको छ। सामाजिक सञ्जालमा उनका भनाइले चर्चा पाएको भए पनि, धेरैले त्यसलाई आलोचना र ट्रोलको रूपमा लिएका छन्।
नेताहरूले बोल्दा तथ्य, योजना र सम्भावनाको आधारमा बोल्नुपर्ने आवश्यकता स्पष्ट छ। जनतालाई झुटो आश्वासन दिने यो संस्कृतिले देशको राजनीतिक तहमा अविश्वास र निराशा थप्दै गएको छ। गगन थापाको अभिव्यक्तिले युवा पुस्तालाई आक्रामक भाषणमा तान्न सक्ला, तर यसले दीर्घकालीन रूपमा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने सम्भावना न्यून छ।
यदि नयाँ पुस्ताका नेताहरूले पुराना प्रवृत्तिहरूको पुनरावृत्ति मात्र गर्ने हुन् भने, नेपाली राजनीतिमा आवश्यक सुधारको अपेक्षा पूरा हुन कठिन छ। यस कारण, नेता र राजनीतिक दलहरूले अबको यात्रा योजनाबद्ध, तथ्यमा आधारित र नागरिकको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने ढंगले अगाडि बढाउन आवश्यक छ।