काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वयोजनाबिनै गरिने विकासले जनतामा राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् ।
आइतबार वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको नरेश सर्राफ दोस्रो स्मृतिसभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ‘जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य अघि बढाउनु पर्छ,’ उनले भने, ‘यसतर्फ सरकार पनि गम्भीर हुनु जरुरी छ ।’
नेपालले देशको विकास पनि प्राथमिकीकरणको आधारमा गर्दा उचित हुने बताए । ‘हाम्रो मुलुकको मुख्य सामर्थ्य भनेको नै कृषि हो, त्यसैले कृषिलाई आधुनिकीकरण गरेर अघि बढ्न सकेको खण्डमा मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सकिन्थ्यो, ‘उनले भने, ‘पर्यटन र जलविद्युत् क्षेत्रलाई मुलुकलाई चलायमान बनाउने क्षेत्रको रूपमा विकास गर्न आवश्यक भइसकेको छ ।’
कृषिलाई व्यवसायीकरण र यान्त्रीकरण गरेर कृषि क्षेत्रमार्फत जनताको जनजीविकामा सुधार ल्याउन जरुरी रहेको पनि उनले औँल्याए । नेपालले सरकारले एक घण्टाकै दुरीमा पुगिने ठाउँमा स-साना स्वास्थ्य चौकी स्थापना गर्नुभन्दा सुविधा सम्पन्न र दक्ष चिकित्सकसहितको अस्पतालमार्फत सेवा प्रवाह गर्दा प्रभावकारी हुने पनि उनले बताए ।
समारोहमा अध्यक्ष नेपालले वीरगन्जका सञ्चारकर्मी मनोजकुमार पटेललाई २१ हजार नगद राशि सहितको नरेश सर्राफ दोस्रो स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेका थिए ।
पत्रकार सर्राफको २ वर्षअघि हृदयाघातबाट मृत्यु भएको थियो । उनको स्मृति दिवसका दिन बर्सेनि समाजवादी प्रेस संगठन पर्साले वीरगन्जलाई कर्मथलो बनाई पत्रकारिता गर्दै आएका एक सन्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।